देउवाको अपिल - अवैधानिक विशेष महाधिवेशनमा सहभागी नहुनुस्

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद र असमझदारी अन्त्य गर्दै आगामी १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै देउवाले प्राकृतिक विपत्तिको समयमा राजनीतिक, धार्मिक तथा

देउवाको अपिल - अवैधानिक विशेष महाधिवेशनमा सहभागी नहुनुस्

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद र असमझदारी अन्त्य गर्दै आगामी १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै देउवाले प्राकृतिक विपत्तिको समयमा राजनीतिक, धार्मिक तथा भौगोलिक विभेद नगरी खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनसमेत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

देउवाले कांग्रेसभित्र बढ्दो आन्तरिक मतभेदले नेता तथा कार्यकर्तामा निराशा पैदा गरेको उल्लेख गर्दै पार्टीको ऐतिहासिक विरासतलाई कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित षड्यन्त्रले कमजोर पार्न नसक्ने बताएका छन् ।

उनले पछिल्लो समय पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नहुँदै त्यसैलाई आधार बनाएर महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी र संवैधानिक सिद्धान्तविपरीत हुने देउवाको दाबी छ ।

‘अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन’ उनले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

देउवाले पार्टीभित्रको समस्या समाधानका लागि एकता, सहमति र सहकार्य नै कांग्रेसको पुरानो परम्परा भएको भन्दै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना अघि बढ्ने कुनै पनि गतिविधिले पार्टीलाई कमजोर बनाउने बताएका छन् ।

आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै देउवाले देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनको सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन् ।

‘पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन’ भन्दै देउवाले सहमति र समझदारीबिना हतारमा अवैधानिक रूपमा महाधिवेशन गरिए त्यसको प्रतिवाद गर्ने संकेतसमेत गरेका छन् ।

उनले कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् ।

साथै पार्टीभित्र एकता, सहमति र सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको देउवाले बताएका छन् ।