विज्ञताले पायो प्राथमिकता, साउदी अरबको राजदूतमा गिरीबहादुर सुनार

काठमाडौं । सरकारले साउदी अरबका लागि नेपाली राजदूतमा समाजशास्त्री तथा विकास विज्ञ एवम् ओशो साधक गिरीबहादुर सुनारलाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान र नेतृत्वदायी अनुभव भएका व्यक्तिलाई समेट्दै १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा सु

विज्ञताले पायो प्राथमिकता, साउदी अरबको राजदूतमा गिरीबहादुर सुनार

काठमाडौं । सरकारले साउदी अरबका लागि नेपाली राजदूतमा समाजशास्त्री तथा विकास विज्ञ एवम् ओशो साधक गिरीबहादुर सुनारलाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान र नेतृत्वदायी अनुभव भएका व्यक्तिलाई समेट्दै १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा सुनारलाई साउदी अरबका लागि अघि सारेको हो।

सुनारको सिफारिसलाई राजनीतिक वृत्तमा परम्परागत दलीय भागबन्डाभन्दा विषयगत विज्ञता र व्यावसायिक अनुभवलाई प्राथमिकता दिने सरकारको प्रयासका रूपमा चर्चा गरिएको छ। उहाँ कुनै राजनीतिक दलको सक्रिय कार्यकर्ताका रूपमा भन्दा सामाजिक विकास, अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श र बहुसरोकारवाला सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञका रूपमा परिचित हुनुहुन्छ । सार्वजनिक विवरणअनुसार उहाँसँग यस्ता क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ।

बागलुङमा जन्मिनुभएका सुनारले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएको छ भने हाल समाजशास्त्रमा विद्यावारिधिका शोधार्थी हुनुहुन्छ । सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, समुदायमा आधारित जलवायु अनुकूलन तथा गुनासो सुनुवाइ संयन्त्र उहाँका प्रमुख कार्यक्षेत्र हुन्। विश्व बैंक र एसियाली विकास बैंकका पूर्वाधार तथा खानेपानीसम्बन्धी ठूला कार्यक्रमहरूमा समेत उहाँले काम गरेको विवरण सार्वजनिक भएको छ।

सुनारको अनुभव सामाजिक विकासमा मात्र सीमित छैन। संस्थागत विकास, सामुदायिक परिचालन, क्षमता विकास, सहरी विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ, नगर सुशासन र पूर्वाधार विकासका क्षेत्रमा समेत उहाँले काम गर्नुभएको छ । उहाँका सयभन्दा बढी नीतिगत लेख विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित भएको र उहाँ ‘एम्पावरिङ वुमेन थ्रु सेल्फ९डिफेन्स’ पुस्तकका लेखकसमेत रहेको विवरण छ।

व्यावसायिक परिचयसँगै सुनारको अर्को फरक पहिचान भनेको उहाँको आध्यात्मिक यात्रा हो। उनी लामो समयदेखि ओशो साधक तथा ओशो तपोवन परिवारका सदस्यका रूपमा जोडिनुभएको छ । काठमाडौंको ताहाचलस्थित आशिष रजनिश मेडिटेसन सेन्टरमा ध्यान सञ्चालनसँग समेत उहाँ आबद्ध रहनुभएको बताइएको छ। सामाजिक विकास र सार्वजनिक नीतिको क्षेत्रमा सक्रिय रहँदै आध्यात्मिक अभ्यासलाई पनि निरन्तरता दिएका सुनारको यही दोहोरो यात्राले उहाँको सार्वजनिक परिचयलाई अरूभन्दा फरक बनाएको छ।

ओशो तपोवन परिवारले सुनारको राजदूत सिफारिसलाई स्वागत गर्दै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। तपोवनसँग जोडिएका उहाँका सहकर्मी तथा साधकहरूले सामाजिक प्रतिबद्धता, सरलता, आध्यात्मिक चेतना र व्यावसायिक अनुभवका कारण उहाँले नयाँ जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साउदी अरब नेपाली श्रमिकको ठूलो गन्तव्य मुलुक हुनुका साथै नेपाल–साउदी सम्बन्धका विभिन्न आर्थिक, श्रम, पर्यटन तथा कूटनीतिक आयाम जोडिएको देश हो। यस्तो मुलुकका लागि सामाजिक विकास, समावेशीकरण र अन्तर्राष्ट्रिय विकासको अनुभव भएका व्यक्तिलाई अघि सारिनुले राजदूतको भूमिकालाई केवल राजनीतिक नियुक्तिको सीमाभन्दा बाहिर विषयगत दक्षतासँग जोड्ने प्रयासका रूपमा समेत हेरिएको छ।

सरकारले यसपटक भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो। प्रस्तावित नामहरू अब संसदीय सुनुवाइको प्रक्रियामा जानेछन्। सुनुवाइपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएमा राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने संवैधानिक प्रक्रिया छ।