भोटेकोशी बाढीका बेपत्ताको मृत्यु प्रमाणित गर्न कानुन बाधक भए संशोधन गरौं : रास्वपा

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीपछि बेपत्ता भएका ५ हजारभन्दा बढी व्यक्तिको अवस्था तत्काल यकिन गर्न सरकारसँग माग गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले बेपत्ता व्यक्तिको मृत्यु भएको हो वा होइन भन्ने विषय छिटो टुंगो लगाउनुपर्ने बताएका हुन्। ‘५ हजारभन

भोटेकोशी बाढीका बेपत्ताको मृत्यु प्रमाणित गर्न कानुन बाधक भए संशोधन गरौं : रास्वपा

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीपछि बेपत्ता भएका ५ हजारभन्दा बढी व्यक्तिको अवस्था तत्काल यकिन गर्न सरकारसँग माग गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले बेपत्ता व्यक्तिको मृत्यु भएको हो वा होइन भन्ने विषय छिटो टुंगो लगाउनुपर्ने बताएका हुन्। ‘५ हजारभन्दा बढी हाम्रा व्यक्तिहरू मिसिङ हुनुभएको छ, बेपत्ता हुनुभएको छ। कयौँ परिवार अहिले पनि पीडामा छन्। मृत्यु भएको हो, होइन भन्ने कुराको पनि छिनोफानो चाँडो हुनुपर्‍यो,’ खरेलले भने।

उनले विद्यमान कानुनी व्यवस्थाका कारण लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउन समस्या भए आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताए। ‘राज्यका कानूनमा यदि अवरोध छन्, समस्या छन् भने कानून बनाएर भए पनि मृत्युको प्रमाणपत्र दिने अथवा डिक्लेयर गर्नुपर्छ,’ उनले भने, ‘परिवारको सहमति भएको अवस्थामा, परिवारले आश मारेको अवस्थामा कानुनी रूपमा अरू थुप्रै राहत पाउने तथा अन्य प्रक्रियाका लागि परिवारलाई सहज हुने गरी सहजीकरण गर्नुपर्छ।’

रास्वपाले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण पनि तत्काल सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ। खरेलले शव पहिचान हुन नसक्दा पीडित परिवारले मानसिक पीडा भोगिरहेको र राहत तथा अन्य प्रक्रिया अघि बढाउनसमेत कठिनाइ भएको बताए। ‘पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनुपर्‍यो। पीडित परिवारले राहत महसुस गर्नुपर्‍यो। उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनुपर्‍यो,’ उनले भने।

बैठकमा भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको अवस्थाबारे पनि समीक्षा भएको खरेलले जानकारी दिए। सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार र राहतको काम जारी रहेको जानकारी बैठकलाई गराएको उनले बताए। बाढी प्रभावितका लागि अब गर्नुपर्ने काममा कमजोरी हुन नदिन पार्टीले सरकारलाई आग्रह गरेको छ। बाढीका कारण स्थगित गरिएका पार्टीका औपचारिक कार्यक्रम तथा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा मधेश प्रदेशमा पार्टीभित्र देखिएको आन्तरिक समस्याबारे अध्ययन गर्न सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गएको टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी पनि दिइएको छ। खरेलका अनुसार टोलीले विस्तृत प्रतिवेदन तयार गरी आगामी बैठकमा पार्टी नेतृत्वलाई बुझाउनेछ। बैठकले पार्टीका विभिन्न विभागमा सदस्य मनोनयन गर्ने निर्णयसमेत गरेको छ। मनोनीत सदस्यहरूको नाम प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने खरेलले बताए।

त्यस्तै, पार्टी उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणबारे पनि बैठकमा जानकारी गराइएको थियो। वाग्लेले भारतीय समकक्षीसँग दुई देशबीचको आर्थिक साझेदारी, कनेक्टिभिटी तथा भोटेकोशी बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेको जानकारी बैठकलाई गराइएको खरेलले बताए। बैठकले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्नेमा समेत जोड दिएको छ। सभापति रवि लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रवक्ता खरेलले जानकारी दिए।