पशुपतिमा गैरहिन्दु प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी पक्राउ

पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई पक्राउ

पशुपतिमा गैरहिन्दु प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी पक्राउ

पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई पक्राउ गरेको हो ।

दुवै जनालाई मंगलबार बेलुकी इटहरी–९ स्थित रंगशाला चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई बुधबार बिहान १०ः३० बजेको हवाई उडानमार्फत थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडिओ सार्वजनिक भएको थियो ।

पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको नियमविपरीत जोडी भित्री भागसम्म पुगेको देखिएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भएको थियो ।

विवाद बढेपछि सामाजिक सञ्जालमा अर्को भिडिओ सार्वजनिक गर्दै प्रियंका र असिमले आफूहरूको कुनै खराब नियत नभएको दाबी गरेका छन् । भिडिओमा बोल्दै प्रियंकाले पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डहरूको यस घटनामा कुनै गल्ती नरहेको बताएकी छन् ।

आफूहरू गेटबाट भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर तत्कालै फिर्ता पठाएको उनले बताएकी छन् ।