राजनीतिक बहस, संसद् र सार्वजनिक कार्यक्रमको व्यस्तताबाट केही समय अलग भएर सांसद ज्ञानेन्द्र शाही यतिबेला ध्यान र साधनामा केन्द्रित हुनुभएको छ । उहाँ धादिङस्थित ओशो भेनुवनमा साधनारत हुनुहुन्छ ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू साधनामा रहेको जानकारी दिँदै लेख्नुभएको छ, ‘जीवन र जिन्दगीभन्दा केही पर, अनजानजस्तै एउटा संसार ।’ उहाँको यो अभिव्यक्तिले केही समयका लागि बाहिरी दौडधुपबाट अलग भएर आन्तरिक शान्ति र आत्मचिन्तनमा केन्द्रित हुनुभएको संकेत गरेको छ ।
ओशो दर्शन, ध्यान र साधनाप्रति शाहीको रुचि भने अहिले मात्रै देखिएको होइन । उहाँ लामो समयदेखि ओशोको दर्शन तथा ध्यान पद्धतिप्रति आकर्षित रहँदै आउनुभएको बताइन्छ । काठमाडौंस्थित ओशो तपोवन, बोधिसत्व स्वामी आनन्द अरुण र ओशोको ध्यान दर्शनप्रति उहाँको पहिलेदेखि नै विशेष झुकाव रहँदै आएको छ ।
ओशो तपोवनका एक साधकसँगको कुराकानीमा शाहीले आफू पहिलेदेखि नै साधनामा बस्न इच्छुक रहेको र त्यसका लागि उपयुक्त समयको प्रतीक्षामा रहेको बताउनुभएको थियो । राजनीतिक तथा सार्वजनिक जीवनको व्यस्तताबीच समय मिलाएर साधनामा जाने उहाँको चाहना अहिले धादिङको ओशो भेनुवनमा पूरा भएको हो ।
बोधिसत्व स्वामी आनन्द अरुणको अगुवाइमा नेपालमा ओशोको ध्यान, साधना र जीवन दर्शन विस्तार हुँदै आएको छ । काठमाडौंको नागार्जुनस्थित ओशो तपोवन यसका प्रमुख केन्द्रमध्ये एक हो भने धादिङको ओशो भेनुवन पनि ध्यान र साधनाका लागि विकसित आध्यात्मिक केन्द्र हो ।
सार्वजनिक जीवनमा स्पष्ट र आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहनुहुने सांसद शाहीको ध्यान–साधनातर्फको यो पाटो भने फरक देखिएको छ । राजनीतिक गतिविधिको चहलपहलबाट केही समय टाढा रहनुभएका उहाँ अहिले धादिङको शान्त वातावरणमा ध्यान, आत्मचिन्तन र साधनामा समय बिताइरहनुभएको छ ।
ओशो भेनुवन धादिङ जिल्लाको गुम्दीमा अवस्थित प्रसिद्ध आध्यात्मिक केन्द्र तथा आश्रम हो, जसलाई दिनेश सिम्खडा र सोभिता सिम्खडाले सञ्चालन गर्दै आएका छन् । यो आश्रम काठमाडौँबाट करिब ११३ किलोमिटरको दूरीमा हिमालयको काखमा शान्त र प्राकृतिक वातावरणमा अवस्थित छ।
