नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो ।
जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । अनिल साहले ११, कुसल परेराले ६ र जेम्स निशमले १५ रनको योगदान दिए । कप्तान हरमित सिंहले १९ रन बनाउँदा अभिषेक तिवारीले २० रनको इनिङ खेले । राहुल यादव र ललित राजवंशीले समान १–१ रन जोडे ।
कर्णालीका लागि हुसैन तलत र युनीश सिंहले समान ३–३ विकेट लिए । नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । पवन सर्राफले ३६, दीपक डुम्रेले १३ र गुल्शन झाले १२ रन जोडे ।
मार्क वाटले १ रन मात्रै बनाए । हुसेन तलत ३ रनमा आउट भए भने अकबर अली १ रनमै आउट भए । सोमपाल कामी र युवराज खत्रीले समान १–१ रन बनाउँदा नन्दन यादवले ९ रन जोडे ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ३ विकेट लिए । मोइन अली र राहुल यादवले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।
