नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् । उनले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पुर्याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।
विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या समाधान गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने उनले बताए । काँग्रेस प्रतिपक्षीको भूमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै थापाले ती जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘हामीले महाधिवेशनबाट पारित गरेका कुराहरूलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्याउनको लागि ‘काँग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरू समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ ।’
उनले विगतको समीक्षा र आलोचनाको चरण सकिएकाले अब अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले विगतको समीक्षा गर्यौँ, कतिपय कुराहरूमा आलोचना पनि गर्यौँ । त्यो सबै चरणहरू अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो । आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिनाभरि हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौँ । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ’, थापाले भने ।
आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि उनले निर्देशन दिए ।
थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोलटोल र वडावडामा पुगेर लम्बेतान सम्मान कार्यक्रम आयोजना नगर्न आग्रह गरे ।
उनले भने, ‘अर्को कुरा, अब लगत्तै तिहार, छठ आउँदैछ । हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनै पनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।’
थापाले चाडपर्वलाई रमाइलोका रूपमा मात्र नलिई सामुदायिक तथा सार्वजनिक काममा समर्पित हुनसमेत निर्देशन दिए ।
