प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिएका छन् ।
प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
शुक्रबार विभिन्न सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकार पक्राउ गरिएको र केही मिडिया हाउसमा धरपकड भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।
पक्राउ परेका पत्रकार केही घण्टामै रिहा भए पनि घटनाबारे सरकारको जवाफदेहिता माग भइरहेको छ । पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन, उनको सचिवालय र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । उक्त पोस्टमा प्रधानमन्त्री बालेनले पनि ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार’ भन्दै प्रतिक्रिया दिएका थिए ।
पत्रकार पक्राउ प्रकरणको विरोध भइरहेका बेला प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिको आशय र लक्षित समूहबारे भने खुलाएका छैनन् ।
