नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । योसँगै जनकपुरले प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । बिपिन आचार्यले २०, बिपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन जोडे । शाकिब अल हसनले ९, महेदी हसनले ८, अर्जुन घर्तीले ७, चमिका करुणारत्नेले ४ र दिनेश खरेलले ३ रन बनाए । मोहम्मद सैफुद्दिनले खाता खोल्न सकेनन् । प्रतीक पोखरेल २ रनमा अविजित रहे ।
पोखराको पहिलो विकेट दिनेश खरेलका रूपमा झरेको थियो । उनलाई मोइन अलीले अनिल शाहको हातबाट क्याच गराए । त्यसपछि महेदी हसनलाई पनि मोइनले अभिषेक तिवारीको हातबाट क्याच गराए ।
कप्तान कुशल भुर्तेललाई ललित राजवंशीले अभिषेक तिवारीको हातबाट क्याच गराए । शाकिब अल हसन र अर्जुन घर्तीलाई सैफ हसनले आउट गरे । किरण ठगुन्नालाई हरमित सिंहले बोल्ड गरे भने मोहम्मद सैफुद्दिनलाई मोइन अलीले बोल्ड गरे । चमिका करुणारत्नेलाई हरमित सिंहले आफैँ क्याच लिएर आउट गरे । बिपिन आचार्यलाई जिम्मीले राहुल यादवको हातबाट क्याच गराए ।
जनकपुरका लागि मोइन अली, हरमित सिंह, ललित राजवंशी र सैफ हसनले समान २ विकेट लिए । जिम्मीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जनकपुरका लागि त्रित राज दासले सर्वाधिक ६१ रन बनाएका थिए । मोइन अलीले २१ र अभिषेक तिवारीले अविजित २४ रन जोडेका थिए ।
यो जितसँगै जनकपुरले दुई खेलमा जित संख्या दुई पुर्याएको छ । पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
