कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले चौका–छक्का हान्दा दर्शकदीर्घाबाट हुटिङ गुञ्जिन्छ। विकेट झर्दा समर्थक उफ्रिन्छन्। तर मैदानमा दर्शकको ध्यान तान्ने पात्र खेलाडी मात्रै छैनन्। कहिले हात्ती नाचिरहेको देखिन्छ, कहिले बाघले कम्मर मर्काइरहेको हुन्छ। कतै यती दर्शकसँग हात मिलाउँदै हुन्छ त कतै गरुडले आफ्नो उपस्थिति देखाइरहेको हुन्छ।
पहिलो नजरमा यी पात्र कुनै मनोरञ्जन कार्यक्रमका कलाकारजस्ता लाग्न सक्छन्। तर वास्तवमा यी नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै टोलीका मस्कट हुन्। अहिले क्रिकेट मैदानमा उनीहरूको पनि आफ्नै ‘स्टारडम’ देखिन थालेको छ।
खेलाडीले ब्याट र बलबाट दर्शकको मन जित्ने प्रयास गरिरहेका बेला मस्कटहरू नाचगान, हाउभाउ र रमाइला गतिविधिबाट समर्थकलाई मनोरञ्जन दिइरहेका छन्। खेल हेर्न आएका बालबालिका उनीहरूसँग तस्बिर खिचाउन झुम्मिन्छन्। कतिपय दर्शक खेलको ब्रेकमा मस्कटसँग रमाइलो गर्न व्यस्त देखिन्छन्।
एनपीएलका यी मस्कट केवल मनोरञ्जनका पात्र मात्र होइनन्। प्रत्येक मस्कटको पछाडि एउटा क्षेत्र, संस्कृति, भूगोल र पहिचान जोडिएको छ। कसैले हिमालको याक रोजेको छ, कसैले तराईको गैँडा र अर्ना। कसैले जंगलको बाघ र सिंहलाई अघि सारेको छ भने कसैले पौराणिक गरुड र रहस्यमय यतीलाई आफ्नो प्रतीक बनाएको छ।
अर्थात्, एनपीएलमा आठ टोलीले आठ फरक पात्रमार्फत आफ्नो क्षेत्रको कथा पनि सुनाइरहेका छन्।
कसको मस्कट कस्तो ? नामभित्र लुकेको छ क्षेत्रीय पहिचान
१. जनकपुर बोल्ट्स : ‘बौवा’ अर्थात् सेतो हात्ती
जनकपुर बोल्ट्सको मस्कट सेतो हात्ती हो। यसको नाम ‘बौवा’ राखिएको छ। मैथिली भाषामा छोरालाई मायाले सम्बोधन गर्दा बौवा भन्ने गरिन्छ। नामदेखि स्वरूपसम्म यसले मधेशको भाषा, संस्कृति र स्थानीय पहिचानलाई प्रतिनिधित्व गर्छ।
२. काठमाडौं गोर्खाज : ‘दादा’ अर्थात् रहस्यमय यती
काठमाडौं गोर्खाजले हिमाली लोककथामा वर्णन गरिने यतीलाई आफ्नो मस्कट बनाएको छ। ‘दादा’ नाम दिइएको यस पात्रले दाजु, संरक्षक र मार्गदर्शकको भाव बोकेको छ। हिमालसँग जोडिएको रहस्यमय पात्र यती अहिले क्रिकेट मैदानमा दर्शकसँग रमाइरहेको देखिन्छ।
३. चितवन राइनोज : ‘मिस्टर गैँडा’
चितवनको नाम आउनेबित्तिकै धेरैको दिमागमा गैँडाको तस्बिर आउँछ। त्यही पहिचानलाई चितवन राइनोजले आफ्नो मस्कटमा उतारेको छ। ‘मिस्टर गैँडा’ नाम दिइएको एकसिंगे गैँडा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको वन्यजन्तु सम्पदाको प्रतीक हो।
४. सुदूरपश्चिम रोयल्स : ‘बड्डौ’ अर्थात् बाघ
सुदूरपश्चिम रोयल्सको मस्कट बाघ हो। यसको नाम ‘बड्डौ’ राखिएको छ, जुन डोटेली भाषासँग सम्बन्धित छ। जंगलको शक्तिशाली जनावर बाघमार्फत टोलीले सुदूरपश्चिमको प्राकृतिक सम्पदा, क्षेत्रीय गौरव र पहिचानलाई झल्काएको छ।
५. विराटनगर किंग्स : ‘पूर्वेली राजा’ अर्थात् अर्ना
विराटनगर किंग्सले जंगली भैँसी अर्थात् अर्नालाई आफ्नो मस्कट बनाएको छ। ‘पूर्वेली राजा’ नाम दिइएको यस पात्रले पूर्वी नेपालको पहिचान र कोशी क्षेत्रको प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छ। अर्नाको बलियो शरीर र स्वभावलाई शक्ति तथा सहनशीलताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
६. कर्णाली याक्स : ‘मिस्टर याक’
कर्णाली याक्सको मस्कट हिमाली क्षेत्रमा पाइने याक हो। ‘मिस्टर याक’ नाम दिइएको यस पात्रले कर्णालीको हिमाली भूगोल र त्यहाँको जीवनशैलीलाई सम्झाउँछ। कठिन भूगोल र चिसो मौसममा समेत सहजै अनुकूलन गर्न सक्ने याकलाई शक्ति, धैर्य र सहनशीलताको प्रतीक मानिएको छ।
७. पोखरा एभेन्जर्स : ‘गरुड’ अर्थात् पौराणिक शक्तिशाली पात्र
पोखरा एभेन्जर्सको मस्कट पौराणिक पात्र गरुड हो। हिन्दू धर्मशास्त्रमा भगवान् विष्णुको वाहनका रूपमा वर्णन गरिने गरुडलाई शक्ति, साहस र तीव्रताको प्रतीक मानिन्छ। अन्य टोलीका मस्कटभन्दा पौराणिक पहिचान बोकेको गरुडले पोखरा एभेन्जर्सलाई छुट्टै स्वरूप दिएको छ।
८. लुम्बिनी लायन्स : ‘सिंह राजा’
लुम्बिनी लायन्सले सिंहलाई आफ्नो मस्कट बनाएको छ। ‘सिंह राजा’ नाम दिइएको यस पात्रले साहस, शक्ति र नेतृत्वको प्रतिनिधित्व गर्छ। टोलीको नाम र मस्कटबीच सीधा सम्बन्ध रहेकाले सिंह मैदानमा देखिँदा लुम्बिनी लायन्सको पहिचान झल्किन्छ।
आठ टोलीको साझा मस्कट पनि छ, नाम हो ‘जीत’
आठवटा टोलीका आठ फरक मस्कट भए पनि एनपीएलको साझा मस्कट भने हिउँ चितुवा हो। यसलाई ‘जीत’ नाम दिइएको छ। नेपाली भाषामा जीतको अर्थ विजय हो। त्यसैले यो कुनै एउटा टोलीको मात्र नभई समग्र प्रतियोगिताको प्रतिनिधित्व गर्ने प्रतीक हो।
क्रिकेटसँगै संस्कृति र पहिचानको पनि प्रदर्शन
एनपीएलका मस्कटलाई हेर्दा यो प्रतियोगिता क्रिकेटको प्रतिस्पर्धा मात्रै नभई नेपालको विविधता प्रदर्शन गर्ने एउटा माध्यमसमेत बनेको देखिन्छ। हिमालदेखि तराईसम्म, वन्यजन्तुदेखि पौराणिक पात्रसम्मका प्रतीकलाई एउटै मैदानमा उतारिएको छ।
खेलाडीले ब्याट र बलबाट आफ्नो क्षमता देखाइरहँदा मस्कटहरूले भने नाचगान र रमाइलो गतिविधिबाट दर्शकलाई जोडिरहेका छन्। उनीहरूको उपस्थितिले विशेषगरी बालबालिका र परिवारसहित खेल हेर्न आउने दर्शकका लागि थप आकर्षण सिर्जना गरेको छ।
