उत्तरी गोरखाको मनास्लु क्षेत्रमा ठूलो सुख्खा पहिरो झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकस्थित बुम्राङमा मंगलबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झरिरहेको हो।
क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङमा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए। उनका अनुसार साकिमा डाँडादेखि सेराङ खोलासम्म करिब ३०० मिटर लामो पहिरो झरेको छ।
मंगलबार बिहान करिब ११ बजेतिर ठूलो धुवाँ उडाउँदै पहिरो झरेको थियो। दिउँसो स्थानीय पुगेर अवस्था हेरेका थिए। राति पनि पुनः पहिरो झरेको र बुधबार दिउँसोसम्म निरन्तर झरिरहेकाले घटनास्थलमा पुग्नसमेत कठिन भएको वडाध्यक्ष लामाले बताए।
‘आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ। डाँडाबाट खोलासम्म करिब ३०० मिटरजति पहिरो झरेको छ,’ उनले भने, ‘अहिले पनि झरिरहेकाले कति फराकिलो छ भन्ने यकिन गर्न सकिएको छैन।’
पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनाको जनजीवन प्रभावित हुने देखिएको छ। गुम्बामा अध्ययनरत करिब २०० जना विद्यार्थी, लामा गुरु तथा वृद्धाश्रममा रहेका गरी झन्डै ४०० जना बस्दै आएका छन्।
पहिरोका कारण गुम्बामा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन समस्या हुने वडाध्यक्ष लामाले बताए। पहिरो निरन्तर झरिरहेकाले आवतजावतमा समेत कठिनाइ भएको छ।
