ओलीले कार्यकर्तालाई भने- जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीपंक्तिलाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर ग

ओलीले कार्यकर्तालाई भने- जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीपंक्तिलाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए । आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नहुने भन्दै परिस्थिति असह्य भएपछि तत्कालै आन्दोलन सुरु हुन सक्ने उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको केन्द्रिय कमिटीले हाम्रो अगाडि दुई वटा महत्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ । एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरु सधैं हरदम तयार हुनुहोला । आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ ओलीले भने ।

उनले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी गतिविधिबाट पनि राजनीतिक परिवर्तन हुने गरेको बताए ।

‘उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ । मानिसहरुलाई राज्य संयन्त्रको प्रयोगलाई पृष्ठभागमा राखेर उपद्रवकारीहरुलाई अग्रभागमा सारेर परिवर्तन हुँदा रहेछन्,’ उनले भने ।

ओलीले कुनै पनि समयमा आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मानसिक रूपमा समेत तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘तसर्थ कुनैपनि समयमा आन्दोलनमा जानुपर्छ साथिहरु त्यसको तयारीमा जुट्नुहोला । मानसिक रुपले पनि तयार रहनुहोला । हामी अफ्ठ्याराहरुसँग जुधेर आउने बानी परेको छ,’ उनले भने ।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै ओलीले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे । झापामा पार्टी पुनर्गठन गरेर अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।

‘जाडोमा हिमालमा तपस्या गर्ने तपस्वी जस्तो, गर्मीमा तराईका धुपमा गएर आगो बाले तपस्या गर्ने तपस्वी जस्तो हिउँले पोलेपनि, आगोले पोलेपनि तपस्या गर्ने र आफ्नो तप् पूरा गर्ने बानी परेका छौँ हामी । हामीमाथि के गरिएन ? आज मात्र होइन हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो । पञ्चायत कालमा, राजा महेन्द्रको शासन कालमा हामीलाई सिध्याउन खोजियो । त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपु¥याएका छौँ,’ ओलीले भने ।

उनले अहिले पनि एमाले देशको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको जिकिर गरे । नागरिकमा बेचैनी र निराशा बढ्दै गएको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनमा जानुपर्ने बताए ।

केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै ओलीले एमालेले पहिले पार्टी बनाएर मात्रै निर्वाचनमा जाने नभई पार्टीलाई साथमा लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।