पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो ।सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बा

पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो ।

सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो ।

२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्यत्र लगानी तथा रकम अपचलन गरेको देखिएको सीआईबीका एक अधिकारीले बताएका छन् ।

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ ।

बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँमाथि बैंकबाट लिइएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको विषयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।