हराएको छोरा खोजिदिन गुहार्दा उल्टै गाली गर्ने प्रहरी हवल्दार निलम्बित

हराएको छोरा खोजिदिन प्रहरीसँग सहयोग माग्दा उल्टै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने प्रहरी हवल्दार निलम्बनमा परेका छन् ।आफ्नै सहकर्मीलाई फोनमा अपमानजनक र अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा

हराएको छोरा खोजिदिन गुहार्दा उल्टै गाली गर्ने प्रहरी हवल्दार निलम्बित

हराएको छोरा खोजिदिन प्रहरीसँग सहयोग माग्दा उल्टै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने प्रहरी हवल्दार निलम्बनमा परेका छन् ।

आफ्नै सहकर्मीलाई फोनमा अपमानजनक र अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका हुन् ।

डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवले आफ्नो १७ वर्षीय छोरा चन्दनकुमार हराएको भन्दै खोजीका लागि सहयोग माग्ने क्रममा महतोबाट दुर्व्यवहार सहनुपरेको हो ।

चन्दन एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौंमा बस्दै आएका थिए । छठ पर्व मनाउन घर आएका बेला दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट उनी एकाएक सम्पर्कविहीन भएका थिए । छोराको अवस्था अज्ञात भएपछि चिन्तित बनेका यादवले खोजीका लागि प्रहरीको सहयोग मागेका थिए ।

त्यसक्रममा यादवले जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुममा फोन गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा सम्पर्क गर्न भनिएपछि उनले पुनः फोन गरे । तर, सहयोग र समन्वय पाउनुको सट्टा सञ्चार शाखामा कार्यरत हवल्दार महतोले आफूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको यादवको आरोप छ ।

यादवका अनुसार महतोले सुरुमा फोनमा ‘जय नेपाल’ नभनेको भन्दै निहुँ खोजेका थिए । त्यसपछि आफू प्रहरी नायब निरीक्षक (सई) भएको बताउँदै अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए ।

उक्त फोन संवादको अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै हलचल मच्चिएको छ । घटनालाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुरधाम बोलाएर सोधपुछ गरेको थियो ।

सोधपुछ र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी आचरणविपरीत अपशब्द प्रयोग गरेको देखिएपछि प्रदेश प्रहरी कार्यालयले आइतबार महतोलाई निलम्बन गरेको हो । उनीमाथि विभागीय कारबाही प्रक्रिया पनि अघि बढाइएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालले प्रहरी संगठनको आचरण र मर्यादाविपरीत प्रयोग भएको भाषा, शब्द र शैलीप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

घटनाको भित्री कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले प्रारम्भिक रूपमा अपशब्द प्रयोग गरेको देखिएकाले हवल्दार महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको बताए ।

संकटमा परेका नागरिकलाई सहयोग र सुरक्षा दिनुपर्ने प्रहरी कर्मचारीबाटै आफ्नै सहकर्मीले यस्तो व्यवहार भोग्नुपरेको घटनाले प्रहरीको व्यावसायिक आचरणमाथि प्रश्न उठाएको छ ।