ठमेलमा ३ किलो कोकिनसहित ८७ वर्षीय कोरियन पक्राउ, लिन आएका भारतीय प्रहरी जवान

पेरुबाट ३ किलो कोकिन नेपाल ल्याएर भारत लैजाने योजनामा संलग्न रहेको आरोपमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलबाट कोरियाली नागरिक सुक चोन ल

ठमेलमा ३ किलो कोकिनसहित ८७ वर्षीय कोरियन पक्राउ, लिन आएका भारतीय प्रहरी जवान

पेरुबाट ३ किलो कोकिन नेपाल ल्याएर भारत लैजाने योजनामा संलग्न रहेको आरोपमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलबाट कोरियाली नागरिक सुक चोन लीलाई ३ किलो कोकिनसहित पक्राउ गरेको हो ।

ब्युरोका अनुसार लीले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर कोकिन लुकाएका थिए । उनले पेरुबाट उक्त कोकिन काठमाडौं ल्याएको र भारतीय नागरिकले यहाँबाट बुझेर मुम्बई लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कोकिन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि सोही क्रममा पक्राउ परेका हुन् । उनको साथबाट मुम्बईको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत बरामद भएको ब्युरोले जनाएको छ ।

अनुसन्धानका क्रममा कोरियाली नागरिक ली नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएको खुलेको छ । उनी यसअघि पनि जुलाई १९ मा नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको प्रहरी अभिलेखबाट देखिएको ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा दुवै जनाले पासवर्ड प्रयोग गर्ने गरेको पाइएको छ । नेपाललाई लागुऔषध कारोबारको ट्रान्जिटका रूपमा प्रयोग गर्न सक्ने आशंकित विदेशी नागरिकको आपराधिक गतिविधिको विश्लेषण तथा निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

बरामद गरिएको ३ किलो कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ पर्ने ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइलसमेत बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।