देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने घोषणा

देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने घोषणा

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आयोजना गरेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । गत आइतबार राति भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आठ बुँदे निर्णय पनि गरेको छ ।

बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी समाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा, सबै धार्मिक समुदायका सङ्घ–संस्थाले संयुक्त अपिल गर्ने तथा समन्वय र सहजीकरणमा भूमिका खेल्ने तथा सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको थियो । बैठकले घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । बैठकमा मुख्यमन्त्री कार्कीले सम्पूर्णले सामाजिक सद्भाव कायम गर्नका लागि भूमिका खेल्नुपर्ने बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय