प्रधानमन्त्री बालेनलाई भिष्म आङदेम्बेले भने- सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्

प्रधानमन्त्री बालेनलाई भिष्म आङदेम्बेले भने- सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्याग्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीको ध्यान यसतर्फ आकर्षित गरेका हुन् ।

आङदेम्बेले प्रधानमन्त्रीले संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जीवनशैली अपनाउन नहुने चेतावनी दिए ।

‘आज म प्रतिपक्ष दलको तर्फबाट केही प्रश्नहरू गर्न चाहन्छु । बिर्सन हुँदैन कि लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो,’ उनले भने ।

उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै संसदको गरिमामाथि प्रश्न उठाए ।

‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ । संसद सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था हो । त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ,’ उनले भने ।

आङदेम्बेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्ने हो भने संसदीय लोकतन्त्र कमजोर हुने दाबी गरे ।

‘यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?’ उनले प्रश्न गरे ।

उनले लोकप्रिय हुनु र उत्तरदायी हुनु फरक कुरा भएको भन्दै प्रधानमन्त्रीलाई भाइरल हुने बाटो नअपनाउन सुझाव दिए ।

‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीको रूपमा गम्भीर र जिम्मेवार भएर काम गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, भाइरल हुने बाटो त्याग्नुस्,’ उनले भने ।

आङदेम्बेले प्रधानमन्त्री संसदलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यस्तो अवस्थामा संसदीय लोकतन्त्रको मर्यादा कायम राख्न कठिन हुने जिकिर गरे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय