संघीय संसद् अन्तर्गतका विभिन्न समितिको सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त (प्रतिनिधिसभा र राष्ट्रिय सभा) समिति सभापतिका लागि उम्मेदवारी परेको हो ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपा, प्रमुख प्रतिपक्षी कांग्रेस, प्रतिपक्षीहरु एमाले र नेकपाबाट उम्मेदवारी दर्ता भएको हो । शुक्रबार हुने निर्वाचनका लागि बिहीबार मनोनयनपत्र दर्ता गरिएको हो ।
रास्वपाबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयनपत्र दर्ता गरिएको छ ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा. ओजस्वी शेरचनको उम्मेदवारी परेको छ भने उनलाई चुनौती दिँदै एमालेका गुरु बरालले मनोनयनपत्र दर्ता गरेका छन् ।
रास्वपाबाटै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । महत्त्वपूर्ण समितिको रुपमा हेरिने सार्वजनिक लेखा समितिमा कांग्रेसबाहेक अन्य दलको उम्मेदवारी परेको छैन ।
संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिमा रास्वपाका बोधनारायण श्रेष्ठले मनोनयनपत्र दर्ता गरेका छन् भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले उम्मेदवारी दर्ता गराएका छन् ।