काठमाडौं । तपोवनमा भुटानका सम्मानित बौद्ध गुरु खेन्पो फुन्ट्शो ग्याल्त्सेनको आगमनसँगै विशेष आध्यात्मिक सत्संग कार्यक्रम सम्पन्न भएको छ।

खेन्पो ग्याल्त्सेन भुटानका प्रतिष्ठित बौद्ध गुरु वैरोचना रिन्पोछेका श्रद्धेय गुरुका रूपमा परिचित हुनुहुन्छ। उहाँको स्वागत बोधिसत्त्व स्वामी आनन्द अरुणले गर्नुभएको थियो।

स्वामी आनन्द अरुणले उहाँलाई भगवान समाधिसम्म पुर्याउनुभएको थियो, जहाँ महान बौद्ध दार्शनिक नागार्जुनले ज्ञान प्राप्त गरेको विश्वास गरिन्छ। समाधि क्षेत्रमा दुवैले संयुक्त रूपमा मन्त्र उच्चारण गर्दै ध्यान, मौनता र आध्यात्मिक ऊर्जाले भरिएको गहिरो सत्संग गर्नुभएको बताइएको छ।

कार्यक्रममा सहभागी साधकहरूले उक्त क्षणलाई दुर्लभ आध्यात्मिक अनुभूतिको रूपमा वर्णन गरेका छन्। सत्संगका क्रममा सचेतना, करुणा, ध्यान तथा आन्तरिक रूपान्तरणका विषयमा विशेष संवाद भएको जनाइएको छ।

खेन्पो ग्याल्त्सेनले तपोवनभित्र रहेका विभिन्न मन्दिरहरूको पनि अवलोकन गर्नुभएको थियो। विशेषगरी बुद्ध मन्दिरमा सन्यासी, ध्यानकर्ता र साधकहरूसँग प्रेरणादायी अन्तरक्रिया तथा आध्यात्मिक संवाद सम्पन्न भएको थियो।

बौद्ध तथा ध्यान परम्पराबीचको आत्मीय सम्बन्ध झल्किएको उक्त कार्यक्रम सामूहिक भोजनसँगै सम्पन्न भएको जनाइएको छ। स्वामी आनन्द अरुण र खेन्पो ग्याल्त्सेनबीचको भेटलाई आध्यात्मिक सद्भाव, करुणा र चेतनाको सुन्दर संगमका रूपमा लिइएको छ।



