भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच तथा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँ का दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ। ग्यासको कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ। ग्यासको अवैध बिक्री वितरण तथा कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।