प्रहरीले बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।
बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।
किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले यसको विरोध गरेका छन् ।
प्रहरीका अनुसार बयानको भिडियो खिच्ने क्रममा करिब पाँचजना प्रहरी त्यहाँ उपस्थित रहेको देखिएको छ। भिडियो कसले खिच्यो र कसरी बाहिरियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
भिडियो सार्वजनिक गर्ने कार्यमा अन्य प्रहरीको समेत संलग्नता रहेको वा उनीहरूको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नाबालकसँग सम्बन्धित संवेदनशील अनुसन्धानका क्रममा बयानको भिडियो बाहिरिनु गम्भीर विषय भएको भन्दै प्रहरीभित्रैबाट पनि यस घटनालाई गम्भीर रूपमा लिइएको छ।
यस्तै गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले खड्कालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त बयान, घटनासँग सम्बन्धित प्रमाण तथा अन्य अनुसन्धानका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
खड्काको पक्राउसँगै गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ । यसअघि गरिमाका परिवारले दिएको पूरक जाहेरीका आधारमा प्रहरीले शनिबार नै ५ जनालाई पक्राउ गरेको थियो ।