काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशव्यापी रूपमा अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएपछि बागलुङको बडिगाड गाउँपालिकामा पनि त्यसको असर देखिएको छ। तर स्थानीयवासी र खेलकुदकर्मीहरूले भने “डोजर अभियान”को नाममा जनताको कर पसिनाबाट बनेको सार्वजनिक भवन नै भत्काउन खोजिएको भन्दै विरोध जनाएका छन्।
बडिगाड गाउँपालिका–५ खार दाँगा चौर, सिमढिक क्षेत्रमा रहेको “बडिगाड डोजो”को भवन भत्काउन स्थानीय प्रशासन सक्रिय बनेपछि अहिले क्षेत्र तनावग्रस्त बनेको छ। भवन भत्काउन प्रमुख जिल्ला अधिकारी स्वयं खटिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
उक्त भवन २०७५ साल पुस १२ गते विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, गाउँकार्यपालिका सदस्य तथा स्थानीयबासीको सहमतिमा गाउँपालिकाकै बजेटबाट निर्माण गरिएको थियो। भवनमा कवर्ड हलसमेत रहेको छ र लामो समयदेखि खेलकुद तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ।
बडिगाड डोजो संस्था कराते लगायतका खेलसँग सम्बन्धित संस्था हो। यहाँ नियमित रूपमा कराते प्रशिक्षण, योगा, खेल अभ्यास, युवा अनुशासन कार्यक्रम तथा सामाजिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
डोजोका अध्यक्ष राजन पाईजाले भवन नभत्काउन आग्रह गर्दै भने, “यो स्थान केवल कराते खेल्ने ठाउँ मात्र होइन। यहाँ बिहान योगा हुन्छ, बेलुका खेल अभ्यास हुन्छ, समाजका कार्यक्रम हुन्छन्, र युवाहरूलाई अनुशासन, आत्मविश्वास र सकारात्मक बाटो सिकाइन्छ।”
उनले जनताको करबाट बनेको संरचनालाई अन्य सार्वजनिक प्रयोजनमा समेत प्रयोग गर्न सकिने भन्दै भत्काउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
“राष्ट्रको गहना खेलकुदलाई दमन गर्ने शैली उचित होइन,” अध्यक्ष पाईजाले भने, “हामी संवाद, समझदारी र समाधानमा विश्वास गर्छौं। तर खेलाडी र संस्थाको सम्मानमाथि ठाडो हस्तक्षेप स्वीकार गर्न सकिँदैन।”
स्थानीयवासीले पनि सार्वजनिक सहमतिमा बनेको संरचना प्रशासनिक बल प्रयोग गरेर हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार बडिगाड डोजो कुनै व्यक्तिको निजी स्वार्थका लागि नभई समाज, खेलकुद र युवाको भविष्य निर्माणका लागि स्थापना गरिएको संस्था हो।
डोजो पक्षले भवन जोगाउन आवश्यक परे थप संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ। स्थानीयस्तरमा अहिले “सार्वजनिक हितका लागि बनेको संरचना नै किन भत्काइँदैछ ?” भन्ने प्रश्न उठ्न थालेको छ।