निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको २० प्रतिशत शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध र विभाजनका कारण यस परियोजनालाई अघि नबढाउने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘सबै पक्षका धारणा ध्यानपूर्वक सुनेपछि, यो परियोजनाले यस्तो विभाजन सिर्जना गरेको स्पष्ट भयो, जुन हाम्रो मूल उद्देश्यको हितमा छैन । हाम्रो उद्देश्य सधैँ फुटबललाई जोड्नु र सुधार गर्नु हो । त्यसैले यो प्रस्ताव अगाडि बढ्ने छैन ।’

उनले पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत सबै २ सय ११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकी डलर दिने अफर गरेका थिए । तर युरोपेली फुटबल महासंघ (यूईएफए) ले यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो पछि हटेका हुन् ।

यस्तै उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि प्रस्तावको कडा विरोध गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको टिप्पणी गर्दै राजीनामा दिएका थिए ।

आगामी मार्चमा चौथो कार्यकालका लागि अध्यक्षको प्रतिस्पर्धामा उत्रन लागेका ५६ वर्षीय इन्फान्टिनोमाथि यो निर्णयसँगै ठूलो नैतिक र राजनीतिक दबाब परेको छ । उनले अब सबै पक्षलाई समेटेर फुटबलको साझा हितमा काम गर्ने बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय