काठमाडौं । अन्तर्राष्ट्रिय न्यायिक कल्याण दिवसको अवसरमा सर्वोच्च अदालतमा योग, ध्यान तथा तनाव व्यवस्थापनसम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ।

न्यायाधीश कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ल लगायत सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीहरूको सहभागितामा रहेको थियो ।

कार्यक्रमका स्वामी आनन्द अरहतले न्यायिक पेशामा बढ्दो कार्यचाप, मानसिक तनाव र भावनात्मक थकानलाई व्यवस्थापन गर्न योग, ध्यान र सचेत जीवनशैलीको महत्वबारे प्रकाश पार्नुभएको छ ।

उहाँले व्यस्त पेशागत जिम्मेवारीका बीच पनि सहज रूपमा अभ्यास गर्न सकिने योगासन, श्वासप्रश्वास (ब्रेथिङ) अभ्यास तथा ध्यानमार्फत मानसिक शान्ति र आन्तरिक सन्तुलन कायम राख्ने प्रभावकारी विधिहरूको प्रत्यक्ष अभ्यास गराउनुभएको थियो। यी अभ्यासले तनाव घटाउन, एकाग्रता बढाउन र निर्णय क्षमतालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा न्यायिक सेवामा उत्कृष्टता हासिल गर्न कानुनी ज्ञान र अनुभव मात्र पर्याप्त नहुने, त्यसका लागि मानसिक तथा भावनात्मक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिइयो। स्वस्थ मनले विवेकपूर्ण निर्णय, स्पष्ट सोच, धैर्यता र करुणामूलक दृष्टिकोण विकास गर्ने भएकाले न्याय सम्पादनको गुणस्तरसमेत सुदृढ हुने उल्लेख गरे।

सहभागीहरूले यस्ता कार्यक्रमले न्यायिक समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै तनाव व्यवस्थापनको संस्कृतिलाई संस्थागत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सर्वोच्च अदालतमा आयोजित यस कार्यक्रमले व्यक्तिगत कल्याण र संस्थागत प्रभावकारिताबीचको सम्बन्धलाई उजागर गर्दै स्वस्थ, सजग र सुदृढ न्याय प्रणाली निर्माणका लागि योग र ध्यान प्रभावकारी माध्यम बन्न सक्ने स्पष्ट सन्देश दिएको छ।

