बाजुरा र हुम्लाबीच देखिएको सीमा विवाद थप संवेदनशील बनेपछि विवादित क्षेत्र लाम्पाटामा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली त्यस क्षेत्रमा परिचालन गरी अस्थायी सुरक्षा पोस्ट स्थापना गरिएको हो।
शनिबारदेखि कार्यान्वयनमा आएको सुरक्षा व्यवस्थाअन्तर्गत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले क्षेत्रको सुरक्षा अवस्थाको निगरानी गर्ने, सम्भावित विवाद नियन्त्रणमा सहयोग पुर्याउने तथा स्थानीयवासीमा सुरक्षाको अनुभूति दिलाउने काम गर्नेछ।
पछिल्लो समय सीमा निर्धारणको विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीय तहबीच मतभेद बढ्दै गएको थियो। विवाद चर्किन थालेपछि सरकारले स्थिति थप जटिल बन्न नदिन सुरक्षा उपस्थिति विस्तार गर्ने निर्णय गरेको हो।
यसअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त केन्द्रीय सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
सरकारले विवादित क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्दै सामाजिक सद्भाव जोगाउने उद्देश्यले संयुक्त सुरक्षा संयन्त्र सक्रिय बनाएको जनाएको छ। साथै, सीमा विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायहरूबीच समन्वय र संवादलाई समेत अघि बढाइने बताइएको छ।