जनकपुरमा एकदिने ध्यान शिविर सम्पन्न, अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माणको योजना सार्वजनिक

जनकपुरमा एकदिने ध्यान शिविर सम्पन्न, अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माणको योजना सार्वजनिक

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जनकपुरस्थित माडबारी सेवा समितिमा एकदिने ध्यान शिविर सम्पन्न भएको छ।

देशभरबाट करिब ३५० साधकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा बिहानदेखि ओशोको सक्रिय ध्यान विधिअनुसार विभिन्न ध्यान अभ्यास सञ्चालन गरिएको थियो।

कार्यक्रमका बोधिसव स्वामी आनन्द अरुणले जनकपुरमा ५ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गर्नुभयो । उहाँका अनुसार सो क्षेत्रमा अन्तर्राष्ट्रिय ध्यानशाला, अष्टावक्र मन्दिर, साधकहरूको आवास गृह, अवलोकनका लागि राम–सीता मन्दिर तथा सम्बन्धित अन्य भक्तहरूको मन्दिर निर्माण गरिनेछ।

कार्यक्रममा जनकपुर र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झा, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले उक्त परियोजनाले जनकपुरको समग्र विकास र आध्यात्मिक पुनर्जागरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मिथिला संस्कृतिको केन्द्रका रूपमा परिचित जनकपुर राजा जनक को राजधानी र सीता को जन्मस्थलका रूपमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्र हो। यही महत्वलाई मध्यनजर गर्दै ओशो आश्रम स्थापना गर्ने दीर्घकालीन योजनाको प्रारम्भिक चरणका रूपमा उक्त ध्यान शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

साथै, स्वामी आनन्द अरुणको जन्मथलोसमेत रहेको जनकपुरलाई ऋषि–मुनि तथा भक्तहरूको नगरीका रूपमा विकास गर्दै यहाँ आध्यात्मिक जागरणको नयाँ आयाम सुरु गर्ने लक्ष्य राखिएको बताइएको छ।

आगामी दिनमा स्थापना हुने आश्रममा राम–सीता सम्बन्धित धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षणसँगै ओशोको क्रान्तिकारी दर्शनलाई जनकपुरको माटोमा स्थापित गर्ने लक्ष्य राखिएको छ। ध्यान शिविरमार्फत व्यक्तिलाई आफ्नै अन्तरात्मा बुझ्ने अभ्यास गराउँदै दीर्घकालीन रूपमा आध्यात्मिक केन्द्र विकास गर्ने योजना अघि बढाइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय