बागलुङको भीमगिठेकी गोमा खत्रीकी छोरी ३३ वर्षीया संगीता खत्री विगत तीन वर्षदेखि सम्पर्कविहीन रहेकी छन्। परिवारका अनुसार संगीता करिब चार वर्षअघि दाङ–सल्यान क्षेत्रका एक युवासँग प्रेम विवाह गरेर गएकी थिइन्।
विवाहपछि उनले एक छोरालाई जन्म दिएकी थिइन्। बच्चा जन्मिएको २२ दिनपछि उनी माइतमा आएर करिब ६ महिनासम्म बसेकी थिइन्। त्यसपछि श्रीमान्सँग फर्किएपछि भने परिवारसँग उनको सम्पर्क पूर्ण रूपमा टुटेको बताइएको छ।
सानीआमा गोमा खत्रीका अनुसार संगीता सात कक्षासम्म अध्ययन गरेकी हुन्। उनका अनुसार संगीताको एउटा आँखा सानो छ भने उनको बच्चामा पनि केही शारीरिक समस्या रहेको जस्तो देखिन्थ्यो।
छोरीको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवार चिन्तित बनेको छ। गोमा खत्री भन्छिन्, “तीन वर्ष भयो छोरीसँग कुनै सम्पर्क छैन। एकपटक फोन गरेर ‘म यहाँ छु आमा’ भनिदिए पनि मन ढुक्क हुन्थ्यो। सानैदेखि मैले हुर्काएकी हो। जन्म दिने आमा नभए पनि उनी मेरी छोरीजस्तै हुन्। अहिले कहाँ छिन्, कस्तो अवस्थामा छिन् भन्ने कुनै खबर छैन।”
उनले संगीतालाई देख्ने, भेट्ने वा उनको अवस्थाबारे जानकारी पाउने जो–कोहीलाई परिवारलाई जानकारी गराइदिन आग्रह गरेकी छन्। “कसैले देखेको छ वा उनको बारेमा केही थाहा छ भने खबर गरिदिनुहोस्। कम्तीमा उनी सुरक्षित छिन् भन्ने थाहा पाए पनि मनलाई शान्ति मिल्ने थियो,” उनले भनिन्।
परिवारले संगीता खत्रीको अवस्थाबारे कुनै जानकारी भए सम्पर्क गर्न अनुरोध गरेको छ।