काठमाडौं । स्वामी आनन्द अर्हतले बेलायतका विभिन्न स्थानमा योग तथा ध्यान शिविर सञ्चालन गर्नुभएको छ । ओशो तपोवनको ध्यान प्रशिक्षक समे रहनुभएका स्वामी अर्हत गत बिहीबार लन्डन पुगेपछि विभिन्न शहरमा ध्यान, योग र आत्मिक रूपान्तरणसम्बन्धी विशेष सत्र सञ्चालन गरिरहनुभएको छ ।

मे १६ तारिख शनिबार उहाँले डार्टफोर्ड हिन्दु मन्दिरमा योग तथा ध्यान शिविर सञ्चालन गर्नुभएको थियो । त्यसैगरी आइतबार बिहान साउथ ह्यारोस्थित नर्थोल्ट कम्युनिटी हलमा आयोजित योग तथा ध्यान सत्रमा सहभागीहरूलाई ध्यान, मानसिक सन्तुलन र पारिवारिक सम्बन्धका विषयमा मार्गदर्शन दिनुभएको थियो । उक्त कार्यक्रम नेप्लिज ब्रिटिश कम्युनिटीले आयोजना गरेको थियो।

त्यस्तै मे १८ तारिख सोमबार स्वामी अर्हतले साउथ ह्याम्प्टनस्थित एभरेष्ट कुजिनमा एक दिवसीय ध्यान शिविर सञ्चालन गर्नुभएको थियो । ती सत्रहरूमा उहाँले स्वस्थ, सन्तुलित र सचेत जीवनका लागि ध्यान अपरिहार्य रहेको बताए।
“जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरूसँग कुरा गर्न किन गाह्रो हुन्छ ? त्यसको जग के हो ? र हामीले आफ्नै छोरा–छोरीसँग संवाद गर्ने कला कसरी सिक्न सक्छौं ?” जस्ता विषयमा उनले सहभागीहरूसँग गहिरो अन्तरक्रिया गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले स्वामी अर्हतसँग बिताएको समय विशेष र स्मरणीय बनेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार स्वामी अर्हतले गराएको योग तथा ध्यान अभ्यासबाट शरीरमा नयाँ ऊर्जा र ताजगी अनुभव भएको थियो।
स्वामी अर्हतको एक भनाइले धेरैलाई भावुक बनाएको सहभागीहरूले बताएका छन्। सहभागी विनोद घिमिरेले भने, “यदि तपाईं आफ्नो लागि दिनमा आधा घण्टा पनि निकाल्न सक्नुहुन्न भने, आखिर कसका लागि बाँचिरहनुभएको छ ?”
सहभागीहरूले स्वामी अर्हतप्रति महत्वपूर्ण समय, ध्यान र जीवनोपयोगी ज्ञान प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।
त्यसैगरी स्वामी अर्हतले आगामी मे २२ देखि २५ तारिखसम्म मेडनहेडस्थित मूर हलमा चार दिवसीय आवासीय ध्यान शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ। उक्त शिविरमा ५० भन्दा बढी साधकहरूको सहभागिता रहने बताइएको छ।
आवासीय शिविरमा अभिभावक र छोरा–छोरीलाई सँगै राखेर विशेष ध्यान सत्र सञ्चालन गरिनेछ। दुई पुस्ताबीच समझदारी कसरी बढाउने, घरमै मोबाइल डिटक्स कसरी गर्ने, भौतिक सुविधाबीच आत्मिक शान्ति र भित्री रूपान्तरण कसरी सम्भव छ भन्ने विषयमा स्वामी अर्हतले मार्गदर्शन दिने कार्यक्रम रहेको छ।
स्वामी आनन्द अर्हतले विगत १९ वर्षदेखि बेलायतमा नियमित रूपमा ध्यान शिविर सञ्चालन गर्दै आउनुभएको छ ।