राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले बलात्कार जस्तो जघन्य अपराध गर्नेहरूको शरीर थरथर काँप्ने गरी कडा कानुन बनाउन माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाले देशकै मुटु भतभती जलाएको बताए । कलिला नानीहरूमाथि गिद्धे दृष्टि लगाउने अपराधीहरूको समाजमा उपस्थिति देख्दा आफूलाई पुरुष हुनुमा समेत लाज लागेको उनले उल्लेख गरे ।
म एक पुरुष भएको नाताले म आफैँलाई लाज लागिरहेको छ कि यो समाजमा यस्ता घृणा गर्न पनि लायक नभएका पुरुष रहेछन्,´ शर्माले भावुक हुँदै भने,हामीले हाम्रा छोरीहरूलाई निकै असुरक्षित संसार दिइरहेका रहेछौँ भन्ने महसुस भइरहेको छ ।”
सांसद शर्माले अपराधीहरूमा ‘केही वर्ष जेल बसेर निस्कने त हो’ भन्ने मानसिकता हाबी भएको भन्दै त्यसलाई तोड्न जरुरी रहेको बताए । उनले संसदमा रहेका २७४ जना सांसदहरूलाई एकजुट भएर कडा कानुन निर्माणमा लाग्न आह्वान गरे ।
उनले अगाडि भने, `आउनुस् हामी २७४ जना मिलेर यही सदनबाट यस्तो कानुन बनाऔँ कि बलात्कार गर्नेलाई मात्रै होइन, यस्तो सोच आउनेको समेत शरीर थरथर काँपोस् ।´
पीडित परिवारले न्यायका लागि सडकमा लड्नुपर्ने र सरकारले न्याय दिएको नाममा धन्यवाद मात्र फर्काउने ‘पीडादायी चक्र’ कहिलेसम्म चल्छ भन्दै उनले सरकारलाई प्रश्न समेत गरे ।
यस्तै, आरोपित बालकले अपराध सकारेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल गराइएको प्रति पनि उनले आपत्ति जनाए । यस्ता संवेदनशील भिडियो सार्वजनिक हुँदा पीडित परिवारको घाउमा नुनचुक छर्किने काम भएको भन्दै उनले राज्यलाई गम्भीर बन्न सचेत गराए ।
सांसद शर्माले अन्त्यमा सरकारलाई मात्र नभई समाज र अभिभावकलाई पनि आत्मसमीक्षा गर्न आग्रह गरे । `हामी कस्तो समाज निर्माण गर्दैछौं ? के हामीले असल सामाजिक अभिभावकत्व निर्वाह गरिरहेका छौँ त? अब सरकारलाई खबरदारीसँगै आफूले आफैँलाई पनि प्रश्न गर्ने बेला आएको छ,´ उनले भने ।