यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।
परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन परीक्षार्थीले अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा आउँदो २९ गते सकिनेछ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।