काठमाडौं । स्वामी आनन्द अरुणले नेपाललाई योग र ध्यानको विश्व राजधानीका रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न प्रस्ताव गर्नुभएको छ।
उहाँले नेपाललाई योग, ध्यान र आध्यात्मिक पर्यटनको केन्द्र बनाउँदै विश्वभर प्रचार गर्न सके पर्यटन वृद्धि र आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभयो।
लायन्स क्लबको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नयाँ सरकार गठनसँगै देशमा आशा जागेको उल्लेख गर्दै नेपाल १० वर्षमै सिंगापुर जस्तै बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विगतमा ढिलासुस्ती, भ्रष्टाचार र न्याय पाउन खर्च गर्नुपर्ने अवस्थाले निराशा बढेको भए पनि अहिले समय परिवर्तन भएको बताउँदै तीन करोड नेपालीको मनमा नयाँ आशा पलाएको धारणा राख्नुभयो। “अब नेपाल पनि १० वर्षमा सिंगापुर बन्छ भन्ने विश्वास बढेको छ,” उहाँले भन्नुभयो।
स्वामी अरुणले सिंगापुरको विकास उदाहरण प्रस्तुत गर्दै पानीसमेत मलेसियाबाट किन्ने अवस्थाबाट २०–२५ वर्षमै विकसित राष्ट्र बन्न सफल भएको स्मरण गर्नुभयो। नेपालसँग प्राकृतिक स्रोत र आध्यात्मिक सम्भावना पर्याप्त रहेको उल्लेख गर्दै उचित नीति र नेतृत्व भए छिटो समृद्धि सम्भव रहेको उहाँको भनाइ छ।
पर्यटनका सन्दर्भमा उहाँले करिब ४० लाख जनसंख्या भएको सिंगापुरमा वार्षिक दुई करोड पर्यटक आउने र ३ करोड ४० लाख जनसंख्या रहेको मलेसियाले सन् २०२६ मा ४ करोड ७० लाख पर्यटकको लक्ष्य राखेको उदाहरण दिनुभयो। नेपालमा भने आकर्षक गन्तव्य हुँदाहुँदै वार्षिक ११–१२ लाख मात्र पर्यटक आउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी थियो।