इरानले गर्‍यो सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिने शोक घोषणा

इरानले गर्‍यो सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिने शोक घोषणा

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको औपचारिक पुष्टि भएको छ । इरानी सरकारी टेलिभिजनलगायतका आधिकारिक सञ्चारमाध्यमले आइतबार बिहान उनको निधन भएको घोषणा गरेका हुन् ।

शनिबार बिहान अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा भीषण हमला गरेका थिए । राजधानी तेहरानस्थित खामेनीको निवास वरपर शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै धुवाँको मुस्लो देखिएको थियो । आक्रमणबाट उनको निवासलगायतका संरचनामा क्षति पुगेका दृश्य तथा भिडिओहरू सार्वजनिक भए पनि इरानी अधिकारीहरूले भने सुरुमा सर्वोच्च नेता सुरक्षित नै रहेको दाबी गर्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणलगत्तै खामेनी मारिएको दाबी गरेका थिए । अन्ततः आइतबार बिहान इरानको राष्ट्रिय सुरक्षा परिषद्को वक्तव्यलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उनको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।

सरकारी टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै आँसु झार्दै सर्वोच्च नेताको निधनको खबर सार्वजनिक गरेका थिए । ८६ वर्षीय खामेनीको मृत्युसँगै इरान सरकारले देशभर ४० दिने सार्वजनिक शोकको घोषणा गरेको छ ।

यद्यपि, मृत्युको औपचारिक पुष्टि गरिए पनि इरानी सुरक्षा परिषद्को वक्तव्यमा उनको ज्यान कसरी गयो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन । त्यसैगरी, इरानको आगामी सर्वोच्च नेता (उत्तराधिकारी) को हुने भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनापछि इरानी नागरिकहरूका लागि ‘सत्ता आफ्नै नियन्त्रणमा लिने सुनौलो अवसर’ आएको टिप्पणी गरेका छन् । खामेनीको निधनले इरान र समग्र मध्यपूर्वको राजनीतिमा ठूलो उथलपुथल ल्याउन सक्ने विश्लेषण गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय