पर्वत,वैशाख ९ । छिमेकी जिल्ला बाग्लुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एसियाकै लामो झोलुङगे पुल निर्माण सम्पन्न भएको छ । १ वर्षअघिदेखि निर्माण सुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङगे पुल निर्माण गरिएको हो । पुल निर्माणको सम्पूर्ण काम पूरा भएको निर्माण कम्पनी थानी, बिएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।
पुलको मंगलबार अर्थात वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लक डाउनका कारण प्रभावित भएको खड्काले बताउनुभयो । कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङगे पुलको लट्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले यो नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाई छ । लक डाउन अवधिमा पनि १६ जना कामदारले यसमा नियमित काम गरेका थिए ।
निर्माण काम सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लट्ठा तानिएको छ । पुलमा कुल ९४५ स्टिलडेक (फ्ल्याक) बिछ्याइएको छ । पुलको प्रतिवर्ग्फिटमा ४ जना अट्न सक्ने क्षमता रहेको छ । पुल यात्रुहरु भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल निकै लामो भएकाले मोटरसाइकल सञ्चालनमा भने रोक लगाइने छ । यस पुलको आयु ५० वर्षसम्म रहेको छ ।
पुल निर्माणपछि बाग्लुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासीलगायतका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको यस पुल बाग्लुङ प्रवेशद्वार मालढुंगा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका–१ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताउनुभयो ।
‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी–बिएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले ६ करोड ९१ लाखमा ठेक्का सम्झौता लिएको थियो । नेपाली इञ्जिनियरले नै यसको डिजाइन गरेका थिए । यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको जिकिर छ ।
कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियाकै लामो मानिने भए पनि यहाँ बन्न लागेको पुल खुला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बाग्लुङमा बनेको पुल खुला आकाशमा बनेको छ । फरक प्रकृतिको यो पुल पनि एसियाकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीको भनाई छ ।