गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया थाल्न कांग्रेसको माग

गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया थाल्न कांग्रेसको माग

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतसम्बन्धी उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त सुरू गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्।’

कांग्रेसले गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंकालाई स्वाभाविक मानेको छ।

त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने जोड कांग्रेसले दिएको छ।

‘सरकारसमक्ष स्पष्ट माग गर्दछौँ, गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ अगाडि भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’

कांग्रेसले नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने आफ्नो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख रहेको स्पष्ट गरेको छ।

पार्टीले सधैँ पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिँदै आएको र भविष्यमा पनि उभिरहने बताएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय