चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

देश दुनिया खबर
5 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफर अन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ। ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन्। खुसीको खबर बुबासम्म पनि पुग्छ।

नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ? अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ। छ घण्टामा उहाँँहरूले सात लाख रुपियाँ पठाए।

“एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उहाँहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमईपेबाट पठाए।

यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ । अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउछन् । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गरिन्।

सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाइन् । अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ।

‘लोभले लाभ, लाभले विलाप’

महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरी निरीक्षक राजेश महर्जन अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउछन्  ।आर्थिक दृष्टिकोणले मध्यम वर्गीय, शिक्षित र बौद्धिक समुदायका व्यक्ति नै बढी ठगिने गरेका छन्।

गिरोहले विभिन्न किसिमको चिट्ठा तथा उपहार परेको खबर इमेल, फेसबुक, भाइबर, ह्वाट्सएप, इमो, विच्याट, इन्स्टाग्राम र म्यासेन्जरलगायत सामाजिक सञ्जालबाट पठाउने र सो प्राप्तिका लागि शुल्क लाग्छ भन्दै अनलाइन ठगी गर्ने क्रम अचेल बढेको छ ।

अपराध महाशाखामा मात्र यस्ता दुई दर्जनभन्दा बढी उजुरी छन् । नक्कली आईडी बनाई अनलाइन ठगीको आरोपमा केही नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । यस्ता ठगहरूको सञ्जाल भारत, अफ्रिका, खाडी र युरोपसम्म फैलाएको महाशाखाले जनाएको छ ।

यो समूहले प्रत्येक दिन ‘एक न एक’ जना नेपालीलाई पीडित बनाउने गरेको छ । केही दिनअघि महाशाखाले अनलाइन चिट्ठा ठगीको अभियोगमा झापाबाट एक जनालाई पक्राउ गरेको छ । आईएमई–पेबाट प्राप्त ठगीबापतको रकम बुझ्न जाँदै गर्दा उनी पक्राउ परेका हुन् ।

सूचना प्रविधिको विकाससँगै यो अपराध गाउँ–गाउँसम्म मौलाउँदै गएको छ, ठग्नेभन्दा ठगिने मुर्खको जमात पत्याउन नसकिने छ । सित्तैमा पैसा र उपहार पाइने प्रलोभनबाट जानी–जानी ठगिने समस्या बढेको हो।

पक्राउमा चुनौती

महाशाखाका अनुसार अनलाइन ठगीमा सलग्न अभियुक्तलाई पक्राउ गर्न सहज छैन। यसमा सूचना प्रविधिसँगै सामाजिक सञ्जाल र ‘फेक आईडी’ प्रयोग हुने भएकाले पक्राउमा समस्या देखिएको हो । कतिपय अवस्थामा चिट्ठा तथा उपहारको प्रलोभन देखाउने र केहीको बैङ्क खाता ह्याक गरी रकम चोर्ने गर्छन् ।

साइबर विज्ञका अनुसार स्क्याम, ह्याकिङ र पार्सल–लट्रीका नाममा अनलाइन ठगी हुने गरेको छ । यस किसिमको ठगीबाट सर्वसाधारणलाई सर्तक र सचेत गराउन प्रहरीले विगत पाँच वर्षदेखि जनचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

यस्तो अपराधका सम्बन्धमा धेरै व्यक्ति जानकार छन् तर पनि फस्छन्, अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइराला अनलाइन ठगीमा परेकालाई कठै भन्नुपर्ने अवस्था नरहेको बताउछन्।

जनचेतनाको अभाव

यस अपराधका विरुद्ध जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । सामाजिक सञ्जालबाट हुने अनलाइन ठगीसम्बन्धी अपराध विगत पाँच वर्षदेखि अप्रत्याशित ढङ्गले मौलाउँदै गएको भनाइ प्रहरीको छ । प्रत्येक दिन कोही न कोही अनलाइन ठगीमा पर्ने गर्छन् । त्यस्तै वैदेशिक रोजगार, घर–जग्गा कारोबार, सरकारी तथा गैरसरकारीसम्बन्धी जागिर (रोजगार) र सस्तो मूल्यमा डलर तथा सुन साट्ने बहानमा ठगी बढ्दै गएको छ ।

काठमाडौँं प्रहरी परिसरमा मात्र दैनिक १२ वटा ठगीसम्बन्धी मुद्दा दर्ता हुने गरेका छन् । तीमध्ये बैङ्किङ कसुरअन्तर्गत (बाउन्स चेक) ठगी, घर, जग्गा खरिद–बिक्री, सरकारी जागिर, विभिन्न एनजीओ तथा आईएनजीओमा जागिर लगाइदिने सम्बन्धी उजुरी बढी छन् ।

सर्वसाधारणबाट ठगी गरेको रकमले काठमाडौँ उपत्यकामा घर घडेरी जोड्ने, कार चढ्ने र सुनको औँठी, सिक्री लगाएर सान देखाउने, मस्ती गर्नेको जमात बढ्दै गएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेत बताउछन्।

समाचार साभारः गोरखापत्र

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय