‘गायब’ कर्मचारीको खोजी सुरु, तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे कारबाही

‘गायब’ कर्मचारीको खोजी सुरु, तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे कारबाही

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका निजामती कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न सम्बन्धित कर्मचारी तथा निकायहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै प्रचलित कानुनबमोजिम अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारी बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा नियमित रूपमा हाजिर भए पनि राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएको जनाएको छ ।

सोही आधारमा मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी आफ्नो अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन आग्रह गरेको छ ।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई पनि आफ्ना निकायबाट विभिन्न समयमा अध्ययन बिदा तथा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । बिदा अवधि समाप्त भएपछि सम्बन्धित कर्मचारी हाजिर भए–नभएको तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र सम्पूर्ण विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

सूचनामा अध्ययन बिदा तथा असाधारण बिदामा गई बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीका हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्थासमेत रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा कर्मचारी अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बिदापछि सेवामा फर्किने कर्मचारीहरूको अवस्था यकिन गर्न यो कदम चालिएको जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय