लघुकथा: हाफटाइम

लघुकथा: हाफटाइम

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सुरेश बादल

 

हाफ टाइमको घन्टी बज्नासाथ सदाझैँ मेरी बैनी दगुर्दै मेरो कक्षाको ढोकामा आएर उभिई। यो उसको नियमित रुटिन थियो। मैले देखें, बिहान मिलाइवरी लगाएका स्कुल पहिरन मैलो बनाइ सकिछ। कोरेको कपाल पनि जिङ्ग्रिङ्ग बनाइसकिछ। एक छिन समय लिएर उसका बिग्रिएका सबै कुरा मिलाइदिएँ।

त्यसपछि चौरमा बसाउँदै खाजाको टिफिन खोलेँ। बैनीको अनुहार खाजा देख्नेबित्तिकै निन्याउरो भयो। खाजामा सुख्खा दालमोठ चिउरा थियो।

आज फेरि मेरी बैनीले दालमोठ-चिउरा खान मानिन। मैले भने आफ्नो भागको खाजा खाएँ। बैनी ठसक्क परेर बसेकी थिई। सायद मसँग रिसाई। म पनि त निर्दोष एवं विवश थिएँ ऊजस्तै। म एक कक्षा पढ्थेँ। बैनी भर्खर नर्सरीमा भर्ना भएकी थिई। मैले ल्याउने खाजा मैले बोके पनि त्यो आमा वा दिदीबाट मेरो हातमा परेको हुन्थ्यो। त्यो बेला म पनि घरको परिस्थिति बुझ्दिनथेँ। बैनी पुतलीजस्तै छे कसरी निल्न सकोस् उसको नरम घाँटीले त्यो सारो चिउरा। हाम्रो स्कुलको खाजा सधैं-सधैं त्यस्तै हुन्थ्यो। आमाले बाहिर काम गर्न जानुपर्छ। सायद भ्याउनुहुन्न खाजा बनाइवरी पठाउन।

भोकाएकी बैनीको मायालु अनुहार देखेर यसो खल्ती छामेँ। दुई रुपैयाँको एउटा सिक्का भेटियो। उसलाई केहि ख्वाउनुपर्यो भनी पसलतिर दगुरेँ। दुई रुपैयाँ जाने एउटा बरफमात्र पाएँ। त्यही किनेर आउँने क्रममा बैनीलाई कक्षातिर गैरहेको देखेँ। घण्टी बजिसकेको रहेछ। तैपनि हतार गरेर उसको हातमा चिसो बरफ थमाएँ। सिन्कामा समाउँदै उसले मलाई त्यो बरफ एक टुक्रा टोक्न भनी। म त्यो चिसो बरफको टुप्पापट्टिको एक टुक्रा टोकेर आफ्नो कक्षातिर दौडिएँ। मुखको टुक्रा चपाउँदै थिएँ– लौ जा, मैले त बरफको टुप्पामा राखिएको दूध, नरिवल र छोकडाको डल्लो टोकेछु। बिचरी बैनीलाई त सग्लो पानी मात्र परेछ। भोकी बैनीले त्यो पनि खान पाइन। मलाई त्यो दिनभर नरमाइलो लागिरह्यो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय