स्वामी आत्मो आनन्द
बुद्धपुरुषहरू यस धरतीका स्पन्दन हुन् । प्रकृति र परमात्मा एकाकार भएर बनेको यस धर्तीलाई हर समय कोही न कोही बुद्ध पुरुषको सजीवन ऊर्जाले प्राण दिईरहेको हुन्छ । बुद्धपुरुषको उपस्थिति बिना यो पृथ्वीले धार्मिकता त गुमाउँछ नै न्यूनतम मानव मूल्य समेत गुमाएर, सहअस्तित्व भुलेर विनाशतर्फ अग्रसर रहन्छ। बुद्धपुरुषको उपस्थितिले मानिसलाई प्रेम,करुणा, सहअस्तित्वमा रहन उत्प्रेरित गर्दछ भने गङ्गा नदीले झैँ पारजगतको याद पनि दिलाउँछ। बुद्ध पुरुषकोे पदचाप पछ्याउनु तीर्थको भ्रमण हो, परमात्मासँग मिलन हुने बाटोमा निस्कनु हो।
मानव बाट बुद्धपुरुषमा आरुड भईसकेपछि धर्तीका सहोदर आत्माहरूको कल्याणको निमित्त बुद्धपुरुषले प्रयास गर्दछन्। त्यस्ता कल्याणको कार्य पूर्ण होसले गरिने हुँदा त्यसलाई ‘ लिला ‘ भनिन्छ । ती करुणा पुरुषहरूले प्रेम, जागरण, भक्ति, समाधि मार्फत परमात्माको बोध मानिसमा पुनस्मरण गराउँदछन् । त्यस्ता बुद्ध पुरुष जसले लाखौंलाई कल्याण गर्न जन्मन्छन् बुद्ध धर्ममा तिनलाई बोधिसत्व र हिन्दुमा अवतार या गुरु भन्दछन् । त्यस्ता बुद्ध पुरुषको जन्मदिन, निर्वाणको दिन र महानिर्वाणको दिनलाई उत्सवको रुपमा मनाउने गरिन्छ। आज ओशोको महापरिनिर्माण दिवस हो। आजकै दिन १९ जनवरी १९९० मा उहाँले भौतिक शरीर छाड्नु भई महापरिनिर्माण प्राप्त गर्नुभयो।
आफ्नो जीवनकालमा ओशोले मानव हितको लागि अनवरत कार्य गर्नुभयो। बुद्ध पुरुषले गर्ने मानव हितको कार्य अरु सामान्य व्यक्तिले गर्ने सामाजिक अभियान भन्दा विशिष्ट र दीर्घकालीन महत्वको हुन्छ। ओशोले ध्यानका नयाँ पद्धतिहरू विकास गरी साधनालाई समयनुकूल बनाउनुभयो। मानव उत्थानमा बाधा पुर्याउने हर एक विषयलाई उहाँले विश्लेषणको माध्यमबाट सचोट व्याख्या गर्नुभयो।
आफ्नो २१ वर्षमा आत्मबोध पश्चात उहाँले मानव चेतनामा आएको परिवर्तन एबम् वर्तमान स्थितिबारे अध्ययन गर्नुभएको थियो र सोही अनुरूप नयाँ ध्यानका विधि निर्माण गर्दै जानुभयो। आफू जस्तै अरुले पनि परम आनन्द बोध गरुन् भन्ने सोचले उहाँले ती विधि निर्माण गर्नु भएको हो। मानिसमा धार्मिकता नभएको बरु धर्मकाे नाममा पाखण्ड र भ्रम भएको उहाँको विश्लेषण थियो। मानिस त्यस्ता पाखण्ड र अन्धविश्वासले घेरिएको पाएर तिनको निरुपणलाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभयो ।
जागरणको लागि सक्रिय र निष्क्रिय ध्यान पद्धतिहरू आविष्कार गर्ने क्रममा उहाँले मानिसको अवचेतनमा अनेक जन्मको दमन, कुण्ठा र पीडा पाउनुभयो। तिनको निरूपण गर्न रेचनका विधिहरू, थेरापीहरु आविष्कार गर्नुभयो। खेतमा नयाँ बाली लाउनु पूर्व पुरानो बालीका जरा उखाल्नुपर्छ। घाँसहरु उखाल्नुपर्छ र खेतलाई खन जोत गरी तयार गर्नुपर्छ। ओशोका ध्यान पद्धतिहरु त्यस्तै तयारी हुन्। सन्यास दीक्षामा ओसोले ध्यानको बीज हाम्रो चेतनामा आरोपित गर्नुहुन्छ नियमित ध्यान र उहाँले निर्माण गर्नुभएको बुद्धक्षेत्रमा ध्यान गर्दै जाँदा उक्त ध्यानको बीज विकसित हुँदै जान्छ।।
ओशोको अधिकांश समय भारतमा व्यतीत भयो र चार वर्ष उहाँले अमेरिकाको ओरेगनमा रजनीशपुरम नामक अन्तराष्ट्रिय कम्युन सञ्चालन गर्नुभएको थियो। उहाँका प्रवचनहरू लिपिबद्ध गर्दा ७०० पुस्तकको आकार लिएका छन्। ती पुस्तकहरूले हामीलाई पुराना धारणा तथा कुण्ठाबाट मुक्त गर्दै जान्छन् । उहाँको वाणी र विचार अनुभवजन्य प्रमाणित स्रोतबाट आएको हुनाले साधनामा अघि बढ्न प्रेरणा स्रोतको पनि काम गर्दछन्। उहाँको वाणी सुन्नु मात्र पनि लाखौं मनुष्यको लागि गहन ध्यानको माध्यम बनिरहेको छ। आजभन्दा पूर्व भएका बुद्ध पुरुषहरूको वाणी लिपिबद्ध गर्न सकिन्थ्यो तर रेकर्ड गर्न सकिने प्रविधि त्यो समयमा थिएन । वर्तमान युगका महान बुद्ध पुरुष ओशोको अडियो र भिडियो प्रवचनको रेकर्ड रहनुले धेरै मानिसलाई कल्याण भइरहेको छ। उहाँका विचार क्रान्तिकारी छन्, विचारोत्तेजक छन् र ध्यानीका लागि त्यही वाणी ध्यानप्रदायक पनि छन्। ओशोका ध्यान केन्द्रहरूमा उहाँले दिनुभएका विधिहरू सँगसँगै उहाँका प्रवचन पनि ध्यानमा जाने विधिकै रुपमा प्रयोग गरिन्छन्।
ओशो तपोवनले विगत ३५ वर्षदेखि ओशोका ध्यान शिविरहरू सञ्चालन गर्दै आईरहेको छ। ओसो आश्रममा जुनसुकै जात धर्म वा वर्गका साधकलाई स्वागत गरिन्छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय साधकहरूलाई सप्रेम आनन्दको वातावरणमा ध्यानको अभ्यास गराईन्छ। ओशोले ध्यानलाई गम्भीर विषय नमानी सहज ढंगले ध्यानको विधिहरू अभ्यास गर्न सिकाउनु भएको छ। ओशोले ध्यानमा जानलाई अन्यत्र जस्तो कठिन नियमहरूको निर्माण गर्नुभएन बरु संगीतको प्रयोग गर्दै सरल ढंगले ध्यानमा जाने विधि निकाल्नु भयो, त्यसैले ओशोका ध्यानविधिहरू जो कोही व्यक्तिले पनि सहजै सिक्न र ग्रहण गर्न सक्छन् । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय कम्युन र एक सयको हाराहारीमा ओशो ध्यान केन्द्रहरु खुलेका छन् जहाँ नियमित ध्यानहरू सञ्चालन हुन्छन्। यति सानो राष्ट्रमा ओशो सन्यासीको संख्या २ लाख पुग्न लागेको छ भने ओशो प्रेमीको सङ्ख्या यहाँ लाखौं रहेको छ।
ओशोकाे प्रवचन श्रृङ्खलाहरू र ध्यानविधि आविष्कार गर्ने क्रम जीवनको अन्तिम क्षणसम्म पनि कायम रह्यो। जीवनको अन्तिम वर्षमा पनि उहाँले मिस्टिक रोज जस्तो महत्वपूर्ण ध्यान विधि आविष्कार गरी ध्यानका मुमुक्षुको निमित्त अनवरत कार्य गरिरहनुभयो। ध्यानमा अघि बढ्न चाहने जो कोही मानिसलाई आवश्यक पर्ने हरेक विधि ओशोले दिनुभएको छ। मानिसको चेतनामा बाधा पुर्याउने विभिन्न तत्वहरुलाई हटाएर ध्यानमा सहज पहुँच पुग्ने वातावरण ओशोले निर्माण गर्न चाहनुभएको थियो। कुनै राष्ट्र वा जाती मात्रैमा उहाँको कार्यको दायरा सीमित थिएन। उहाँकाे शिक्षण हर मनुष्यको लागि हो, जो कोही उहाँले दिनुभएको ध्यान पद्धतिबाट लाभान्वित हुन सक्छ। आज उहाँको महापरिनिर्माण दिवसको अवसरमा उत्सवमय शुभकामना दिँदै उहाँले आविष्कार गर्नुभएको ध्यान विधिहरूको प्रयोगबाट सम्पूर्ण मानिसले लाभ लिनुपर्ने शुभेक्षा व्यक्त गर्न चाहन्छु।