झगडा छुटाउन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि…

झगडा छुटाउन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि…

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । मकवानपुरको मनहरीमा झैझगडा र लागुऔषध सेवनको विवाद नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि नै साङ्घातिक आक्रमण भएपछि स्थिति तनावपूर्ण बनेको छ । भीडलाई नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने आक्रमणबाट एक प्रहरी अधिकारी समेत चोटपटक लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८ बजे मनहरी गाउँपालिका-१, मकरीमा लागुऔषध सेवन गरी केही युवाहरूबीच गम्भीर झैझगडा भइरहेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक (असई) दिलबहादुर तामाङको नेतृत्वमा एउटा टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रहरीले सोधपुछ र स्थिति शान्त पार्ने प्रयास गरिरहेकै अवस्थामा उच्छृङ्खल समूहले अचानक प्रहरी टोलीमाथि नै बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी पुष्कर बोगटीले जानकारी दिए । आक्रमणबाट असई तामाङ घाइते भएपछि उनले आत्मरक्षाका लागि एक राउण्ड गोली चलाएका थिए ।

प्रहरीले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका-१२, हात्तीगौडा बस्ने १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ । आक्रमणमा परी मध्यम घाइते भएका असई तामाङ र गोली लागेका तितुङ दुवैको हाल हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै डिएसपी बोगटीकै कमाण्डमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले आक्रमणमा संलग्न रहेको आरोपमा हेटौंडा-१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई तत्कालै नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुई जना र घाइते भएका तितुङ गरी तीनै जनाको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । उनीहरू यसअघि पनि लागुऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरी जस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको डिएसपी बोगटीले बताए । पक्राउ परेकाहरूमाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय