काठमाडौं । रामेछापको दोरम्बा(शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित ६ जनाको शव फेला परेको छ।
३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो।
‘पहिरोमा बेपत्ता ६ जनाको शव हामीले पहिरोबाट निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले भने, ‘पहिरोमा अझै केही बेपत्ता छन्। खोजी कार्य जारी छ।’
उनले चण्डिकाका आमाछोरा बाहेक पहिरोमा मृत्यु भएका ४ जनाको नाता सम्बन्ध खुल्न बाँकी रहेको बताए।
गएराति साढे ३ बजे पहिरो जाँदा लेकखर्चका पाँचवटा घरमा क्षति पुगेको छ। रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंह, गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानसहितको टोली अहिले पनि घटनास्थलमै छ।
एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ।
सोही गाउँको अर्को पहिरोमा एक घर परेको हो। जुन घरका दुई जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।