सांसद सोम शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष ‘बृहत्तर ढोरपाटन क्षेत्र विकास परियोजना’लाई राष्ट्रिय गौरवको परियोजनामा समावेश गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्न आग्रह गरेका छन्।
बागलुङ २ बाट निर्वाचित सांसद शर्माले मन्त्रालयलाई पठाएको पत्रमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ जिल्लालाई समेटेर एकीकृत पर्यटन विकास गर्न सकिने उल्लेख गरेका छन्। प्रस्तावित परियोजनाले ग्रामीण क्षेत्रको सामाजिक–आर्थिक उन्नति, रोजगारी सिर्जना तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
सांसद शर्माले ढोरपाटन क्षेत्रको योजनाबद्ध विकासले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै समग्र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने बताए। उनले परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी छिट्टै कार्यान्वयन सुरु गर्न मन्त्रालयसँग अनुरोध गरेका छन्।
यसै सन्दर्भमा उनले भने, “अब ढोरपाटन बन्नेछ पर्यटनको राष्ट्रिय गौरवको आयोजना, यो त्यस महान यात्राको सुरुवाती बिन्दु हो। यस अभियानलाई सफल बनाउन विशेषगरी बागलुङ क्षेत्र नं. २ का हरेक नागरिकको साथ, सहयोग र सुझाव अपरिहार्य छ। अब बागलुङ टाढा होइन, सम्भावना, समृद्धि र पहिचानको केन्द्र बन्नेछ।”